एमाले सांसदलाई ओलीको निर्देशन : संसदको कार्यकाल सकियो, भोलिदेखि निर्वाचनमा खटिनुस्
काठमाडौं, भदौ ३१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज १ गतेदेखि निर्वाचन तयारीमा खटिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको शुक्रार बसेको बैठकमा अध्यक्ष ओलीले भोलिदेखि संसदको कार्यकाल सकिएका कारण अब निर्वाचनमा पार्टीलाई जिताउने गरी खटिन सांसदहरुलाई निर्देशन दिएका हुन् ।
उनले सरकारले संसदको कार्यकाल लम्ब्याउन खोजेको भएपनि एमालेका लागि आज मध्यरातदेखि संसदको कार्यकाल सकिएकाले भोलिदेखि संसदमा नजान समेत निर्देशन दिएका छन् । ‘हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउदैनौं,’ उनले भने ।
उनले संसदमा एमाले सांसदले खेलेको भूमिकाप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । संकटपूर्ण समयमा आफूलाई साथ दिएप्रति ओलीले सबैलाई आभार प्रकट गरे । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आइसकेका कारण ओलीले अब चुनावमा खटिन र पार्टीलाई बहुमत दिलाउन गाउँगाउँमा परिचालन हुन निर्देशन दिए।












