चोलेन्द्रलाई सर्वोच्च अदालत छिर्न नदिने बारको निर्णय

प्रकाशित मिति:

काठमाडौं, असोज २ । नेपाल बार एशोसियशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने निर्णय गरेको छ । आइतबार बिहान बसेको बारको आकमिक बैठकले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जबरालाई कुनैपनि हालतमा सर्वोच्च प्रवेश गर्न नदिने बताए । ‘हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गछौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन,’ उनले भने ।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ । उक्त खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो ।आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो । अहिले सर्वोच्च अदालतको मुख्य गेट अगाडि अघिल्लो दिनको तुलनामा प्रहरीको तैनाथी बढाइएको छ ।