काठमाडौं, असोज ४ – सर्वोच्च अदालतमा यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्न भन्दै रिट दर्ता भएको छ । जबरजस्ती करणीजस्तो नैतिक पतन देखिने र भविष्यमा सफाई पाएपनि समाजमा पुनःस्थापित हुन नसक्ने प्रकृतिका मुद्दामा आरोपितको नाम गोप्य राख्न माग गर्दै अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्नेसम्बन्धी रिट संवैधानिक इजलासमा दर्ता भएको छ ।
उनीहरुको रिट सोझै संवैधानिक इजलासमा दर्ता गरिएको छ । रिट निवेदकहरुले संविधानमा रहेको गोपनीयताको हकलाई प्रमुख आधार मान्दै गोपनीयताको हकसम्बन्धी अधिकारको रक्षा गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । अनुसन्धानका क्रममा रहेका व्यक्तिको नाम र वतन नै प्रहरी वा अनुसन्धानकर्ताले सार्वजनिक गर्ने गरेको भन्दै भविष्यमा सफाई पाउँदा पनि सामाजिक प्रतिष्ठामा क्षति पुग्ने र समाजमा पुनःस्थापित हुने कठिन हुने भन्दै उनीहरुको नाम गोप्य राख्नुपर्ने रिट निवेदनमा उल्लेख गरेका छन् ।












