रोहिणीका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

प्रकाशित मिति:

भैरहवा, ६ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई स्वागत गरिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट सरुवा भइ रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गौतमलाई बिहीबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले जनप्रतिनिधि तथा कर्मचारीको साथ र सहयोगले नियम, कानून अन्तर्गत रहेर कार्यसम्पादन गर्ने बताए । उनले गाउँपालिकाका अधुरा काम पुरा गर्न लागिपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग र सदभाव आवश्यक छ, एक्लो प्रयासले मात्र सफल हुन सकिदैन । ’सबै मिलेर गाउँपालिकालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘समुन्नत गाउँपालिका बनाउनेतर्फ अघि बढ्छौं । ‘

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सबै मिलेर रोहिणी गाउँपालिकालाई अगाडि बढाउने बताए । उनले निर्वाचनमा जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न लागिपरेको बताए । उनले कर्मचारी र जनप्रतिनिधिबीच सहयोग र सहकार्यमार्फत गाउँपालिकालाई अघि बढाउने बताए । अध्यक्ष यादवले रोहिणीलाई नमूना गाउँपालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने बताए ।गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले एकजुट भएर अगाडि बढ्ने बताइन् ।गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्रीले रोहिणीलाई नमूना गाउँपालिका बनाउन मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष करम हुुसेन खाँ, ४ का अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।