विजयी दशमीको उपलक्ष्यमा रुपन्देहीको रोहिणी गाउपालीकामा शुभकामना आदानप्रदान कार्यक्रम

प्रकाशित मिति:

भैरहवा, १४ असोज । विजयी दशमीको उपलक्ष्यमा रुपन्देहीको रोहिणी गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा शुक्रबार रोहिणी–३ धकधईस्थित सरस्वती थर्कबहादुर रायमाझी सेवा फाउण्डेशन धर्मशालामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वक्ताहरुले रोहिणी गाउँपालिकाको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले गाउँपालिकाको विकासका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले काम गर्ने क्रममा केही कमजोरी हुन सक्ने भन्दै निरन्तर सल्लाह सुझाव दिन आग्रह गरे । उनले धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवले भने, ‘रोहिणी गाउँपालिकाको विकासका लागि सहकार्य गर्दै अघि बढ्छौं, रोहिणीलाई नमूना गाउँपालिका बनाउन सबैको सल्लाह, सुझाव र सहयोग आवश्य छ । ’उनले रोहिणी गाउँपालिकाको भवन, १५ शैयाको अस्पताल, क्याम्पस, भौतिक पूर्वाधार निर्माण, खानेपानी, कृषिलाई प्राथमिकता दिइएको बताए । उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आएको बताए । उनले भने, ‘सबैको सम्मान आवश्यक छ ।’गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणीलाई नमूना गाउँपालिका बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाको एक्लो प्रयासले मात्र विकास हुन नसक्ने बताए । उनले गाउँपालिकाले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘गाउँपालिकाको विकासको काम अगाडि बढाउन चाहन्छौं, सबैको साथ र सहयोगले अगाडि बढाउँछौं । ’राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलको मात्र नभइ सम्पूर्ण जनताको भएको बताए । उनले चुनावी प्रतिष्पर्धा सकिएकाले गाउँपालिकाको विकासमा सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव बैजनाथ सहानी, नेकपा (एमाले) का नेता प्रदीप कुमार पाण्डेय, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता योगेन्द्र प्रसाद चौधरी, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता मात्रिका प्रसाद यादव, समाजसेवी संजय गुप्ता, सतिशचन्द्र मिश्रा, रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्री, वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी लगायतले बोल्दै गाउँपालिकाको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिए । रोहिणी गाउँपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।