वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

प्रकाशित मिति:

काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।

२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ । चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उनले ‘बिर्सन खोज्छु तिमीलाई’बोलको गीत पनि रेकर्ड गराएका थिए ।