भैरहवामा खुल्ला रक्तदान कार्यक्रम

प्रकाशित मिति:

भैरहवा, २८ असोज । उद्योग व्यापार संगठन रुपन्देहीले शुक्रबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । १५ औं वार्षिक साधारणसभाको पूर्व संध्यामा कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । संगठनले उद्योगी व्यवसायको हकहितसँगै सामाजिक कार्य पनि गर्दै आएको ज्ञवालीले बताए । सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवन परिसरमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक प्रकाश प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले रगतको अभावमा कसैको ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्नु पुनित कार्य भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले रक्तदान कार्यक्रमबाट संकलित रगत बिरामीको उपचारमा काम लाग्ने भएकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्नपर्ने बताए । उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक प्रकाश प्रसाद श्रेष्ठको स्वागत तथा संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संगठनको १५ औं वार्षिक साधारणसभा भोलि (शनिबार) भैरहवामा हुने कोषाध्यक्ष राम मिलन यादवले जानकारी दिए ।