काठमाडौं / नेपालीहरूको दोस्रो महान् पर्व तिहार यमपञ्चक आजबाट सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि आजै परेकाले आज बेलुकी यमदीप दान सुरु गर्नुपर्ने छ।
यमपञ्चकमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ। यद्यपि त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने भएकाले काग तिहार भने भोलि परेको छ। त्रयोदशी तिथि भोलि साँझ ०५स्०४ बजेसम्मै रहेको छ।यस्तै आज धनतेरस समेत हो।
यता तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। कात्तिक ७ गते बिहान कुकुर तिहार पर्व मनाइने छ भने सोही दिन बेलुकी लक्ष्मीपूजा हुनेछ।लक्ष्मी पूजाकै दिन गाईपूजा पर्ने भए पनि यसपटक गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ। गोरुपूजा, म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ। नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।यसपटक भाइटीका कात्तिक १० गते परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।












