नवलपरासीमा उपभोक्ता समितिका सदस्यकै संलग्नता काठ तस्कर 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
पौष १६ गते
 नवलपरासी । पश्चिम नवलपरासीमा काठ तस्करीमा उपभोक्ता समिति सदस्यकै संलग्नता रहेको पाइएको छ ।  हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई प्रहरीले काठसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नं. ११ बस्ने शेषकान्त ढकाल रहेका छन् । सिसौं जातका रुखहरु अवैध रुपमा कटान गरी गाडीमा लोड गर्दै गरेको अवस्थामा नेपाल प्रहरीले ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सरावल गाउँपालिका १ स्थित हरियाली सामुदायिक वनमा १९ गोलिया काठ लु १ च ७२८२ नं. को पिकअपमा लोड गर्दै गरेको अवस्थामा ढकालसहितलाई बासा प्रहरी चौकीमा कार्यरत यादव न्यौपानेको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेयले बताउनु भयो । पक्राउ परेका ढकालसहितलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय बर्दघाटमा बुझाइएको छ ।