बुटवल पुस । बुटवल उपमहानगरपालिकाको नगरसभा बिहीबार हुने भएको छ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले भोलि बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२औं अधिवेशनको बैठक यही पुस २१ गते बिहीबार दिउसो ३ बजे नगर कार्यपालिकाको सभाहलमा शुरु हुनेछ । बैठकले राष्ट्रिय योजना आयोगबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदानका लागि प्रस्ताव पठाउने निर्णय गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार समपूरक अनुदानतर्फ ५२ वटा स्थानमा हाइ मास्ट लाईटका लागि ९ करोड, शहरी सडकको स्तरोन्नतिका लागि १६ करोड रुपैयाँका लागि प्रस्ताव पठाउने निर्णय भएको छ । यस्तै विशेष अनुदानतर्फ बुटवल उपमहानगरपालिकाले विद्यालयहरुको भवन निर्माण, छात्रबास निर्माणका लागि प्रस्ताव पठाएको प्रवक्ता रानाले बताउनुभयो ।जसअनुसार सरस्वती आधारभूत विद्यालय बुटवल ११, सूर्योदय आधारभूत विद्यालय बुटवल ११, प्रगति माध्यमिक विद्यालय बुटवल ११, सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल ७, नवीन औद्योगिक माध्यमिक विद्यालय बुटवल ११ र नहरपूर माध्यमिक विद्यालय बुटवल ११ रहेका छन् ।
यी विद्यालयका भवन निर्माण, छात्रबास निर्माण र पर्खाल निर्माणका लागि १ करोडदेखि २ करोडसम्मको प्रस्ताव पठाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । यस्तै ज्योतिनगर पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरी पठाउने निर्णय बैठकले गरेको छ । यस्तैगरी बैठकले श्रम बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ टेबुल गरेको छ ।












