देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुटवलमा

प्रकाशित मिति:

बुटवल, २२ माघ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्टिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।उहाँले स्थानीय सरकारहरुमा पनि महानगर, उपमहानगर र गाउँनगरको अवस्था र समस्या फरक फरक रहेकाले आर्थिक सामाजिक हिसाबले श्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उहाँले आवश्यक कानून निर्माणमा चासो दिनुपर्ने बताउनुभयो ।उहाँले बुटवलले उपमहानगरपालिकाहरुका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उहाँले यसले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संघीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।उहाँले संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानून निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि संघीय सरकारले चासो देखाउनुपर्ने बताउनुभयो ।उहाँले महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक फरक रहेकाले सोहीअनुसारले आर्थिक श्रोतको वितरण गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले संविधानले व्यवस्था गरेअनुसारका अधिकार कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संघीय सरकारले विशेष चासो देखाउनुपर्ने बताउनुभयो ।उहाँले संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्यलाई अरु बढी प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिने गरेकोमा त्यसलाई सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताउनुभयो ।नेपाल नगरपालिका संघका सहकोषाध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले संघीयता सफल बनाउन स्थानीय सरकारहरुलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकार क्षेत्रहरुको जिम्मेवारी तोकी सोही बमोजिमको कानुन बनाउन संघीय सरकारले तदारुपता देखाई प्रदेश र स्थानीय सरकारलाई कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताउनुभयो ।उहाँले संघीय सरकारका विषयगत मन्त्रालयहरूबाट स्थानीय सरकारका अधिकारहरुमाथि अंकुश लगाउने प्रयास भएको भन्दै स्थानीय सरकारलाई स्थानीय निकायजसरी व्यवहार गर्न नहुने बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकारका साझा मुद्दालाई एकीकृत रुपमा समाधान गर्नका लागि साझा समस्या भएका स्थानीय सरकार एकैठाउँमा उभिएको बताउनुभयो ।कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्कालगायतले बोल्नुभएको थियो ।-देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुटवलमा -देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् ।बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् ।शनिबार बुटवल आइपुगेका उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले स्वागत गरेको थियो ।आइतबार बिहान औपचारिक समारोह सकेपछि अहिले उपमहानगरपालिकाहरुका बीचमा आन्तरिक छलफल चलिरहेको छ । छलफलमा उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरुको सहभागिता रहेको छ ।विज्ञसहितको छलफलपछि साझा विषयहरुलाई समेटेर घोषणा पत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।