काठमाडौं, आसोज : दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको स्वयम्भूबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४३ वर्षीय चिनियाँ नागरिक ग्वाङ रोउ, गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि दोलखा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।११ केजी सुन प्रकरणमा १० जना पक्राउ परिसकेका छन्। असोज १० र १२ गते प्रहरीले विगु गाउँपालिका-३ जामुनेबाट ७ केजी र असोज १३ गते विगु गाउँपालिका-१ लामाबगरबाट सुन बरामद गरेको थियो।चीनको रोङजिया नाका हुँदै पैदलमार्गबाट सुन तस्करी भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।












