कामाख्यादेवी दर्शनपछि पुर्व प्रधानमन्त्रीहरुले भने : बसन्तपुर धार्मिक र प्राकृतिक सौन्दर्यको पर्यटकीय हब बन्छ

प्रकाशित मिति:

बुटवल । पुर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनालले पालपाको बसन्तपुरस्थित माता कामाख्याको दर्शन गरेका छन् । नेकपा एकीकृत समाजवादीको मेची महाकाली यात्राका क्रममा बुटवल आएका बेला पार्टीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालले लुम्बिनी केबलकार चढेर बसन्तपुर पुगेका हुन् । पुर्व प्रधानमन्त्रीहरुलाई मन्दिरका पुरोहित सुरेश शर्मा सहितका गुरुहरुले टिका माला सहित आशिर्वाद दिंदै कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको जानकारी गराएका थिए।

माता कामाख्याको दर्शनपछि पुर्व प्रधानमन्त्री नेपालले निजी क्षेत्रको निकै ठूलो लगानीमा बनेको लुम्बिनी केबलकार र माता कामाख्या मन्दिरले नेपालीसंगै उत्तर प्रदेशका करोडौं भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने बताए । उनले बसन्तपुर प्राकृतिक सौन्दर्य,चीसो हावापानी र धार्मिक हिसाबले सबैका लागि आकर्षक पर्यटकीय हब बन्ने संभावना रहेकाले तीनै तहका सरकारले यसको बजार प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताए । अर्का पुर्व प्रधानमन्त्री खनालले बसन्तपुर निकै रमणीय र प्रदुषणमुक्त स्वच्छ ठाउं रहेको भन्दै यहां अहिले भएका पर्यटकीय संरचना पर्याप्त नभएकाले थप पर्यटकीय र मनोरन्जन संरचनाहरु थप्नुपर्ने सुझाव दिए । उनले ठूलो संख्यामा भारतीय पर्यटक बसन्तपुर भित्राउन सके यसले नेपालको अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्ने भएकाले सरकारले पर्यटन निति व्यिवसायी र पर्यटकमैत्री बनाउनुपर्ने बताए ।

पुर्व प्रधानमन्त्रीहरुलाई केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्वागत गरेका थिए । सो अवसरमा सैजूले आईएमई ग्रुपको मुख्य र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको लुम्बिनी केबलकार आयोजना लुम्बिनी प्रदेशकै पहिलो भएको र टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको तथा छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ,विद्युतीय पिङ र बाल उद्यान बनाउंदै गरेको जानकारी गराएका थिए । उनले चाडपर्वमा आम सर्वसाधारण परिवार सहित केबलकार चढ्न र माता कामाख्या तथा दुर्गा मन्दिर दर्शन गर्न सहज होस् भनेर असोज २१ देखि छठसम्म शनिबार वाहेका ६ दिनमा साविक टिकट दरमा ४० प्रतिशत छुटको अफर समेत ल्याएको जानकारी गराएका थिए । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता गरेको पनि अपरेसन म्यानेजर सैंजूले जानकारी गराएका थिए ।