मानुङकोटमा पर्यटकको चहलपहल

प्रकाशित मिति:

तनहुँ, मंसिर – पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ। विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन्। समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ। जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन्। टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले जानकारी दिए।

बास बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गररेको उनले बताए। दमौली बजार आसपासका बासिन्दा सूर्योदय हेर्न त्यहाँ पुग्ने गर्दछन्। अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी मानिसको भीड लाग्ने गर्दछ।मानुङकोटका होटलमा बास बस्ने पर्यटकको माग दैनिक तीन सयदेखि चारसयसम्म हुने गरे पनि मुस्किलले एक सयदेखि एक सय ५० जनासम्म व्यवस्थापन गर्न सकिएको होटल व्यवसायी दाहालले बताए।पानीको चरम अभावका कारण कतिपय पर्यटक सदरमुकाम दमौलीमा गएर बास बस्न गरेको उनले भनाइ थियो। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।हाल उक्त क्षेत्रमा व्यावसायिक रुपमा करिब एक दर्जनको हाराहारीमा होटल सञ्चालन हुँदै आएका छन्। उक्त क्षेत्रमा जाने सडक कालोपत्र र खानेपानीको राम्रो व्यवस्था गर्न सकिए पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा होटल व्यवसायीको रहेको छ।

“दैनिक सात सयदेखि एक हजारको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्”, व्यास–५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले भने, “पर्यटकको सहजताका लागि आठ किमीमध्ये करिब पाँच किमी सडकमा कालोपत्र गरिसकिएको छ।”बाँकी सडकमा कालोपत्र गर्न व्यक्तिको जग्गा विवादका कारण रोकिएकाले छलफलका माध्यमबाट सहमतिको प्रयास भइरहेको उन बताए। मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटलहरु खुुल्ने क्रम पनि बिस्तारै बढ्दै गएको पाइन्छ। व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष सहिद दिवसका दिन मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगितासमेत गर्दै आएको छ। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु हिमाललगायत हरियाली डाँडाकाँडा र समथर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।( रासस