बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्ने

प्रकाशित मिति:

काठमाडौं, मंसिर – बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर र नीतिगत दर घटाएपछि घट्दो क्रममा रहेको ब्याजदर झनै घट्ने भएको हो।शुक्रबार सार्वजनिक पहिलो त्रैमासिक समीक्षाअनुसार बैंकदर ०।५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि ब्याजदर थप घट्ने भएको हो।मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७।५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ। नीतिगत दरलाई ६।५ प्रतिशतबाट घटाई ५।५ प्रतिशत कायम गरिएको छ,’ पहिलो त्रैमासिक समीक्षामा भनिएको छ।

यस्तै, मौद्रिक नीतिको समीक्षामार्फत निक्षेप संकलन बोलकबोल दरलाई ४।५ प्रतिशतबाट घटाएर ३।० प्रतिशत कायम गरिएको छ भने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ।साथै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ। साथै ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ।समीक्षामा ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख छ। लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था पनि समीक्षामार्फत गरिएको छ।मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने समेत व्यवस्था समीक्षामार्फत गरिएको छ।