लुम्बिनी केबलकार पर्यटन तथा आर्थिक विकासमा योगदान गरेवापत सम्मानित

प्रकाशित मिति:

बुटवल । बुटवलको पर्यटन तथा आर्थिक विकासमा  महत्वपूर्ण योगदान गरेवापत बुटवल उपमहानगरपालिकाले लुम्बिनी केबलकार लि.लाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवसका अवसरमा केवलकारलाई प्रशंसापत्रले सम्मान गरेको हो । नगर प्रमुख खेलराज पाण्डेयले कम्पनीका प्रतिनिधि रुपेश पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए । लुम्बिनी केबलकार प्रदेशको पहिलो र सञ्चालनमा आएको एक मात्र केबलकार हो । कूल ५ अर्ब लागतको परियोजना मध्ये डेढ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको थियो । केबलकारमा ९ महिनामा आन्तरिक र वाह्य गरी २ लाख बढी पर्यटक आएका छन् ।

कम्पनीले प्रत्येक टिकटको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर, सय वर्षअघि देखि पुजा हुंदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बी पर्यटकका लागि विशिष्ट आकर्षण बनेको छ । कामाखया मन्दिर दर्शन गर्न र केबलकार चढ्न भारत उत्तर प्रदेशका विभिन्न शहरबाट उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।

केबलकारले करिब सय जनालाई रोजगारी दिएको छ । ती मध्ये अधिकांश स्थानीय छन् । केबलकार सञ्चालनमा आएपछि प्रदेश राजधानी दाङ गएपछि सुस्ताएको बजारलाई चलायमान बनाउन योगदान गरेको निजी क्षेत्रका संघसंस्थाहरुले बताउंदै आएका छन् ।