उद्योग ब्यापार संघमा अटोमोबाइल्स समिति गठन

प्रकाशित मिति:

बुटवल,२ चैत ।     उद्योग ब्यापार संघ बुटवलमा अटो मोबाइल्स वस्तुगत समिति गठन भएको छ । संघ सचिवालयमा शुक्रबार भएको भेलाले शोभाखर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।

समिति सहसंयोजकमा जीवन बोहरा,सचिवमा महेश पन्थी,कोषाध्यक्षमा रोहित मिश्र र सदस्यहरुमा सुर्यकान्त सिंह,माधव भण्डारी,अर्जुन पाण्डे,खिमकान्त रेग्मी,कृष्ण पाण्डे र यादव खनाल चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गरिने छ ।

सो अवसरमा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले विशेषगरी साना तथा मझौला  उद्योगी व्यवसायीका समस्या समाधान र नीतिगत सुधारका लगि महासंघले स्थानीयदेखि केन्द्रसम्म संगठनलाई सशक्त बनाई तीनै तहका सरकारसम्म पहुंच बढाएको बताए । अटो मोबाइल पार्ट्समा भन्सार दर घटाउन र खुला सिमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सके व्यवसायीलाई राहत हुने पराजुलीले बताए ।
संघका सल्लाहकार ज्योति भण्डारीले वस्तुगत समिति गठनले सम्बन्धित व्यवसायका समस्या पहिचान र समाधानमा संघमार्फत पहल गर्न सहज भएको बताए ।
संघका अध्यक्ष विष्णु पाण्डेले चर्को बैंक ब्याज दर,भन्सार दर र घर भाडा लगायत समस्या समाधानमा संघले व्यवसायीका हक हितका पक्षमा अग्रणी भूमिका खेलेको बताए ।
वस्तुगत समिति गठनका संयोजक एवं संघका उद्योग उपाध्यक्ष पदम जिसीले संघमा पहिलो समिति अटोमोबाइल्सको भएको र क्रमशः अन्य समितिहरू पनि गठन गर्दै जाने बताए । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, महिला उपाध्यक्ष अन्जु पाण्डे,महासचिव यमलाल मरासिनी, अटो मोबाइल्स समिति संयोजक शोभाखर भण्डारीले व्यवसायीलाई आइपर्ने हरेक समस्यामा संघ साथमा रहेको बताए ।