सबलपोष्ट ।
बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा एकेडेमी अफ बार टेण्डर एण्ड बारिष्टा बुटवल ट्राफिकचोकको प्राविधिक सहयोगमा एक महिने निशुल्क बारिष्टा तालिम शुरु भएको छ । बुटवल उपमहानगरको मेयर युवा इलम कार्यक्रम अन्तर्गत एकेडेमी अफ बार टेण्डर एण्ड बारिष्टामा उक्त तालिम शुरु भएको हो । बुधबारदेखि शुरु भएको तालिम १२० घण्टा अर्थात एक महिनासम्म सञ्चालन हुने छ ।
तालिममा बुटवल उपमहानगरका १९ वटै वडाका ४० जनाको सहभागिता रहेको छ । उक्त तालिममा कफी बनाउने तरिका, कफीका प्रकार,लाते आर्ट,म्यानुअल कफी,कफी बनाउने मेशन र औजार तथा इन्टर्नसीपबारे जानकारी गराइने एकेडेमी अफ बार टेण्डर एण्ड बारिष्टाका सञ्चालक रमेश मल्लले जानकारी दिए । तालिममा सहभागीहरुलाई बारिष्टा विज्ञ सपना पुनले प्रशिक्षण दिने छिन् ।
तालिम उद्घाटन गर्दै बुटवलका नगर प्रमुख खेलराज पाण्डेले युवाहरुलाई रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गरी दिन स्वराजगार तथा उद्यमी बनाउन मेयर युवा इलम कार्यक्रम सञ्चालन गरिएको बताए । तालिममा अनुशासित भएर सिक्न र सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई मेयर पाण्डेले आग्रह गरे ।
सो अवसरमा बुटवल वडा नं ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने,बुटवल उपमहानगरका सामाजिक शाखा निर्देशक दामोदर ज्ञवाली, रोजगार संयोजक अरबिन्द पाण्डे,एकेडेमी अफ बार टेण्डर एण्ड बारिष्टाका सञ्चालक रमेश मल्ल लगायतले हरेक व्यक्ति आत्मनिर्भर र उद्यमी बन्न सीपमूलक ज्ञान अपरिहार्य रहेकोमा जोड दिएका थिए । पछिल्लो समय कफी पिउने संस्कृति बढ्दै जांदा बारिष्टा तालिम लिनेहरुका लागि सहजै रोजगारी पाउन सकिने सरोकारवालाहरुको भनाई छ ।