आँधीखोला उत्खनन्मा वालिङलाई प्रशासनको रोक

प्रकाशित मिति:

स्याङ्जा । वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने आँधीखोला अस्वभाविक रुपले उत्खनन् गर्न थालेपछि जिल्ला प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एकपत्र जारी गर्दै आँधीखोलाको वातावरणीय परिक्षण मुल्याङ्कन नगरी उत्खनन् नगर्न अनुरोध गरेको छ । वालिङ नगरपालिकाले भुम्रे—अर्चबोट—तमादी—डुम्रेभञ्याङ्—बोनीडाँडा हुदै सेतीबेणी गुल्मी सडक निर्माणको लागि चाहिने निर्माण सामाग्री उत्खनन् गर्न दिने अनुमति निर्माण कम्पनीलाई दिएको थियो । उक्त सडक टुनी आरएस जेभी जडिबुटी निर्माण कम्पनी काठमाण्डौंले निर्माण गरिरहेको छ । त्यसको सहजीकरणमा सहयोग गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । तर जिल्ला प्रशासनले इआईए नगरी आँधीखोलामा डोजर प्रयोग नगर्न अनुरोध गरेपछि आँधीखोला उत्खनन्मा रोक लगाइदिएको हो ।
ठेकेदार कम्पनीको अनुरोधका आधारमा सडक विभागले उक्त सडकलाई आवश्यक पर्ने झण्डै २५ हजार घनमिटर निर्माण सामाग्री उपयुक्त स्थानबाट व्यवस्था गरिदिन अनुरोध गरेपछि नगरपालिकाले आँधीखोला उत्खनन् गर्न अनुमति दिएको थियो ।

बातावरणीय परिक्षण मुल्याङकन नै नगरी नगरपालिकाले डोजर लगायत ठुला इक्ब्यूमेन्ट मार्फत उत्खनन् गर्न अनुमति दिएपछि प्रशासनले हाललाई उक्त कार्य नगर्न रोकिदिएको छ । नगरपालिकाले पठाएको पत्र अनुसार जुन स्थानहरुबाट निर्माण सामाग्री उत्खनन् गर्ने हो उक्त स्थानहरुमा इआईए नगरिएको देखिएकाले उत्खनन्मा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
नगरपालिका वा संघिय सरकारको गौरवको आयोजना निर्माणका लागि मात्रै इआइए गरेर मात्रै खोलाहरु उत्खनन् गर्न पाइने व्यवस्था छ । जसका लागि नगर कार्यपालिकाबाट निर्णय गराएर मात्रै प्रक्रिया अगाडी बढाउनु पर्ने हुन्छ । यस बिषयमा वालिङ नगरपालिकाले कार्यपालिकाबाट पनि निर्णय नगरी हचुवाका भरमा आँधीखोला उत्खनन् गर्न दिएको बताइएको छ । प्राविधिकहरुका अनुसार नगर प्रमुखले कुनै परामर्स नगरी आँधीखोला उत्खनन् गर्न दिएको बताइएको छ ।

जिल्लाकै धार्मिक, सांस्कृतिक पहिचान बोकेको आँधीखोला पछिल्लो समय दोहन बढी हुन थालेपछि स्थानीयले पनि बिरोध गर्दै आएका छन् । राजस्व संकलन हुने प्रलोभनमा स्थानीय सरकारहरु स्थानीय खोलानाला सगै आँधीखोला बचाउने भन्दापनि उत्खनन्मा बढी जोड दिन थालेका छन् । स्थानीय खोलानालाको निर्माण सामाग्री स्थानीय सरकारले परिचालन गर्न पाईने कानुनी व्यवस्था छ । तर सदियौदेखी संस्कृति सगँ जोडिएको आँधीखोला वातावरणीय प्रभाव नहेरी राजस्व संकलन गर्ने नाममा स्थानीय सरकारहरु उत्खनन्मा जोड दिदै आएका छन् । जनप्रतिनिधिहरु नै यस्ता क्रियाकलापमा संलग्न हुन थालेपछि स्थानीयहरु प्रशासन समक्ष पुग्नेक्रम बढेको छ । हरेक बर्ष आँधीखोलाबाट करोडौ रुपैया राजस्व उठाउदै आएका स्थानीय सरकारहरुले आँधीखोला संरक्षणका लागि भने अहिले सम्म बजेट छुट्टाउने गरेको पाइएको छैन । संरक्षणमा ध्यान नदिएका पालिकालाई प्रशासनको ब्रेकले केही हदसम्म आँधीखोला जोगिदै आएको छ । यसका स्थानीयहरुले पनि प्रशासनको यस्तो कार्यको खुलेर प्रशंसा गरेका छन् ।