सुनवल नगरपालिकाको १ अर्वको बजेट पारित, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार ६ गते
नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९९ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ। नगरपालिकाको १७ औँ नगरसभा शुक्रवार सम्पन्न भई उक्त बजेट सर्वसम्मत पारित गरिएको हो। यो बजेट अघिल्लो वर्षको तुलनामा करिब ३ करोडले कम हो। गत वर्ष नगरपालिकाको बजेट एक अर्ब एक करोड ६३ लाख ४९ हजार रुपैयाँ थियो।


नगर प्रमुख विमला अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो। नगर सभाले ‘मेयर केयर कार्यक्रम’, ‘पोषणमैत्री नगर घोषणा’, ‘महिला मैत्री नगर कार्यान्वयन’ र मुख्य स्थानहरूमा सिसीटिभी जडानलगायत कार्यक्रमहरू पारित गरेको छ।


महिला स्वास्थ्य स्वयमसेविकाको मासिक भत्ता ४ हजारबाट बढाएर ५ हजार पुर्याइएको छ भने अवकाशपछि दिइने रकम २ लाखबाट बढाएर ३ लाख पुर्याइएको छ। वडा नम्बर ८ मा ५ शैयाको अस्पताल र वडा नम्बर ५ मा १५ शैयाको अस्पताल निर्माण गरिने भएको छ। साथै, घुम्ती भिडियो एक्सरे सेवा र मृगौला डायलाइसिस सेवा पनि सञ्चालन गरिने नगर प्रमुखले जानकारी दिनुभयो।


नगर उपप्रमुख सूर्यप्रसाद दुबेले बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये ४७ दशमलव ६१ प्रतिशत चालुतर्फ र ५२.३९ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको जानकारी दिनुभयो। बजेट अनुसार संघीय सरकारबाट ४६ करोड, प्रदेश सरकारबाट ३ करोड ७० लाख ३३ हजार, राजस्व बाँडफाँडबाट ४१ करोड २७ लाख ६७ हजार र आन्तरिक स्रोतबाट ९ करोड आम्दानी हुने अनुमान गरिएको छ।


बजेट विनियोजनमा सामाजिक विकासतर्फ ३५ करोड ११ लाख, आर्थिक विकासमा ५ करोड ४३ लाख ५० हजार, पूर्वाधार विकासमा ३६ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ५४ लाख ५० हजार, र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २० करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ।


नीति तथा कार्यक्रमले समावेशी, समानुपातिक र जनसहभागितामूलक कार्यक्रममार्फत समृद्ध नगर, सुखी नगरवासीको संकल्प पुरा गर्ने लक्ष्य लिएको छ। संघ, प्रदेश र निजी क्षेत्रसँग सहकार्य गर्दै दिगो विकास लक्ष्य (SDGs) पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


नगर प्रमुख अर्यालले आगामी दिनमा थप संगठित र एकताबद्ध भएर जनताको चाहनालाई केन्द्रमा राखी काम गर्न सके नगरवासीको खुसीमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।