प्रकाश न्यौपाने
असार ७ गते
नवलपरासी ।
बर्दघाट नगरपालिकाभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायका प्रतिनिधिहरूले कर प्रणाली सहज र उदार बनाउन माग गरेका छन् । उनीहरूले ‘कर रहरले तिर्ने वातावरण’ सिर्जना गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।
उद्योग व्यापार संघ बर्दघाटले आयोजना गरेको कर शिक्षासम्बन्धी कार्यक्रममा सहभागी व्यवसायीहरूले हालको कर प्रणाली झन्झटिलो रहेको उल्लेख गर्दै यसलाई सरलीकरण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले उद्योगमैत्री वातावरण अभावमा करप्रति नागरिकको विश्वास कमजोर हुने भन्दै नीति निर्मातालाई ध्यानाकर्षण गराए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले निजी क्षेत्र, सहकारी तथा सरकारी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले, “निजी क्षेत्रलाई उत्साहित गर्न नगरपालिका सधैं तयार छ,” भन्दै लागत साझेदारीमा आएको योजना अनुसार नगरपालिकाले सहकार्य गर्न सक्ने बताउनुभयो । शनिबार बजार बन्द गर्दा ग्राहकहरू अन्य स्थानतिर जान थालेको भन्दै अबको बजार व्यवस्थापन साँझ अबेरसम्म खुला गर्ने, बजारको सौन्दर्यीकरण र सप्ताहव्यापी सञ्चालनलाई प्रोत्साहित गर्नुपर्ने धारणा समेत राख्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले व्यवसायीहरूलाई इमान्दार भएर कारोबार गर्न सुझाव दिनुभयो । उहाँले खुला सीमाका कारण केही व्यवसायी मर्कामा परेको स्वीकार गर्दै, अबैध वस्तुहरूको किनबेच नगर्न अनुरोध गर्नुभयो । साथै उहाँले बजार अनुगमनका लागि नगरपालिका स्रोतसाधन जुटाउन तयार रहेको उल्लेख गर्नुभयो ।
करदाता सेवा कार्यालय परासीका कर अधिकृत फर्सुराम पोखरेलले आर्थिक विधेयक २०८२ का प्रावधानबारे जानकारी गराउँदै कर कार्यालय र करदाताबीच सुमधुर सम्बन्ध हुनु जरुरी रहेको बताउनुभयो । उहाँले सहभागी व्यवसायीहरूको जिज्ञासाको पनि जवाफ दिनुभएको थियो ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका प्रदेश सदस्य केशव बस्याल, बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नारायण भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष दिनेेश न्यौपानेले राख्नुभएको थियो ।
कार्यक्रम बर्दघाट नगरपालिकाको सहकार्यमा तथा करदाता सेवा कार्यालय परासीको समन्वयमा सम्पन्न भएको हो ।