कृषि, स्वास्थ्य, शिक्षालाइ प्राथमिकता दिदै प्रतापपुरले ल्यायो ७६ करोडको बजेट

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असर ८ गते
नवलपरासी । प्रतापपुर गाउँपालिकाले आज (आषाढ ८ गते) १८औं गाउँसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ। सभाहलमा सम्पन्न गाउँसभामा पालिका अध्यक्ष उमेशचन्द्र यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका गर्नु भयो ।


अध्यक्ष यादवका अनुसार आगामी वर्ष विशेष प्राथमिकता दिइनेछ। शिक्षामा माध्यमिक विद्यालयहरूमा प्राविधिक धार सञ्चालन गरिने, शैक्षिक बेरोजगार कार्यक्रम ल्याइने र जेहेन्दार, गरिब तथा दलित विद्यार्थीहरूलाई छात्रवृत्तिबाट प्रोत्साहन गरिनेछ।


स्वास्थ्य क्षेत्रमा ‘एक गाउँ, एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिने, उपाध्यक्ष कोसेली वितरण कार्यक्रम र सुरक्षा निकायसँग समन्वय गरी ‘सुरक्षित प्रतापपुर’ अभियान लागू गरिनेछ। बालविवाह नियन्त्रणका लागि उमेर पुगेका छोरीको विवाहमा सहुलियत स्वरूप आर्थिक सहयोग उपलब्ध गराइनेछ।


कृषि क्षेत्रमा किसानलाई विद्युत् मिटर जडानदेखि लाग्ने सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने र केरा जोनको रूपमा कृषि विकास गरिने योजना सार्वजनिक गरिएको छ। उद्योग प्रवर्द्धनतर्फ पाँच लाख रुपैयाँभन्दा बढी लगानी भएका उद्योगमा पाँच वर्षसम्म सम्पूर्ण कर छुट दिने व्यवस्था गरिएको छ।


रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरिने र प्रत्येक वडामा एक–एक खेलमैदान निर्माण गरिनेछ। साथै, पालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि आयोजना गरिनेछ।


गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले आगामी आर्थिक वर्ष ७६ करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेकी थिइन्। कुल बजेटमध्ये ५२ करोड ५० लाख २२ हजार (६८.७२ प्रतिशत) चालु खर्चतर्फ र २३ करोड ८९ लाख ४५ हजार (३१.२८ प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको जानकारी दिइएको छ।गाउँपालिकाको अनुमानित आन्तरिक आय तीन करोड रुपैयाँ रहेको जनाइएको छ।