पोर्चुगलस्थित नेपाली दूतावास : १ वर्षमा ३५ हजारभन्दा बढी सेवा प्रवाह, ५० करोड राजस्व संकलन

प्रकाशित मिति:

✍️भरत प्रधान
लिस्बन, २ वैशाख । पोर्चुलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा उल्लेख्य संख्यामा राहदानी लगायतका कागजात प्रमाणीकरण सम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको छ।

सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरुसँगको भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रममा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको संख्यामा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको जनाएको हो ।

दूतावासले सार्वजनिक गरेको प्रतिवेदन अनुसार राहदानी (ई–पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमतिपत्र लगायतका सेवा गरी कुल ३५ हजार ७ सय ८९ सेवा प्रवाह गरिएको छ। जसमा दूतावासले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण सम्बन्धी सेवा प्रदान गरेको छ। प्रतिवेदन अनुसार २३ हजार ७ सय ८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ ।

एक वर्षको अवधिमा दूतावासले ५ हजार ७ सय ९६ जना नेपालीलाई राहदानी (ई–पासपोर्ट) सम्बन्धी सेवा प्रदान गरेको छ । भने एक सय नौ जनाको यात्रा अनुमतिपत्र जारी गरिएको दूतावासले जनाएको छ । यस्तै ५ हजार ६ सय ५५ वटा शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजात लगायतका अन्य कागजात प्रमाणीकरण गरिएको छ । प्रतिवेदन अनुसार ४ सय १४ वटा अधिकृत वारेसनामा र २६ वटा शवफिर्ती सम्बन्धी सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ।

दूतावासले एक वर्षको अवधिमा २९ लाख ९० हजार युरो अर्थात् करिब ५० करोड नेपाली रुपैयाँ राजस्व संकलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिनुभयो । दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलवासी नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको उल्लेख गर्दै राजदूत पौडेलले राहदानी, कागजात प्रमाणीकरण लगायतका नियमित सेवाका साथै समस्या समाधानमा समेत दूतावास निरन्तर सक्रिय रहेको बताउनुभयो।

दूतावासले प्रवर्द्धनात्मक कार्यहरू, नेपाली समुदायसँग सम्बन्धित कार्यहरू, आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकारका विभिन्न निकायहरूसँग सम्बन्ध तथा समन्वय, दुईपक्षीय सम्बन्ध विस्तार तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिहरूलगायतका कूटनीतिक कार्यहरू प्राथमिकताका आधारमा गरिरहेको जनाएको छ।

सो अवसरमा दूतावासले एक वर्षको अवधिमा गरेका कार्यहरू, दूतावासबाट प्रवाह हुने सेवाहरू, कूटनीतिक गतिविधिहरू तथा आगामी कार्ययोजनालगायतका विषयमा जानकारी गराएको थियो। कार्यक्रममा राजदूत पौडेल, नियोग उपप्रमुख शत्रुध्वन प्रसाद पोखरेल, प्रथम सचिव रामबाबु नेपाल, दूतावासका अन्य कर्मचारी तथा पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो।

गत २०२५ मार्च ३१ मा लिस्बनमा दूतावास स्थापना भएको थियोे भने २०२५ अप्रिल १६ बाट दूतावासले सेवा दिन सुरु गरेको थियोे । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि ६० हजार भन्दा बढीको संख्यामा नेपालीहरु रहेको दूतावासको अनुमान छ ।