एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

प्रकाशित मिति:

काठमाडौं : एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो ।यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ ।निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २७ गतेसम्म र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ५ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ ।