एनसेलले ग्रामीण भेगका महिलालाई आय आर्जनको अवसर उपलब्ध गराउने

प्रकाशित मिति:

काठमाण्डौ – एनसेलले बेलायत सरकारको सहयोगमा कार्यान्वयन भएको ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग सम्झौता गरेको छ । एनसेलले ४ सय भन्दा बढी महिलाहरुलाई आफ्नो रिचार्ज कार्डको खुद्रा बिक्रेता बन्ने अवसर प्रदान गर्न यो सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।एनसेलका चिफ कमर्सियल अफिसर एण्डी चोङ्गले भन्नुभयो, ‘ग्रामीण पहुँच कार्यक्रमसँगै साझेदारी गरी प्रदेश ६ र ७ का ग्रामीण भेगका महिलाहरुलाई आय आर्जनको अवसर प्रदान गर्न पाउँदा हामी निकै खुसी छौं । स्थानीय समुदायको लागि दिगो व्यवसायको अवसरहरु सिर्जना गर्ने हाम्रो प्रतिबद्धता अनुसार यो साझेदारी भएको छ ।’

यस सम्झौताले ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग आवद्ध भएका ४ सय उद्यमी महिलाहरुलाई फाइदा पुग्ने जनाएको छ । यी महिलाहरुले एनसेल कम्पनीको खुद्रा बिक्री प्रतिनिधि भएर रिचार्ज कार्ड बेच्नुपर्ने हुन्छ ।यो कार्यले महिलाहरुलाई दिगो आम्दानीको स्रोत सुरक्षित गर्न मद्दत गर्नुका साथै उनीहरुलाई आफ्नो व्यवसाय बढाउँदै भविष्यमा ई–चार्ज र सिम कार्ड बेच्न सक्षम बनाउने आशा एनसेलले राखेको छ ।

यस समझदारीसँगै प्रदेश ६ र ७ का ग्रामीण महिलाहरुलाई सशक्तिकरण गरी आत्मनिर्भर बनाउन ग्रामीण पहुँच कार्यक्रम कनेक्ट, युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल लिमिटेड र प्रभु बैंक लिमिटेडबीच कायम रहेको साझेदारीमा एनसेल पनि सामेल भएको छ ।