राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा करिब दुई अर्ब

प्रकाशित मिति:

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले ६ महिना अवधिमा सो नाफा कमाएको हो। एनआईडिसी डेभलपमेन्ट बैंक प्राप्तीपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख पुगेको छ । यस अवधिमा बैंकले एक खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

ट्रेजरी विल्स् र अन्य लगानीमा बैंकले ४५ अर्ब रुपैयाँ प्रवाह गरेको छ । यस बैंकले २५३ भुकम्प पीडितहरुलाई ४२ करोड १५ लाख प्रवाह गरेको छ । सरकारी स्वामित्वको यस बैंकको आधार दर ६।३३ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७३.६२ प्रतिशत मात्र रहेको छ । कूल ग्राहक संख्या ३० लाख रहेको बैंकका ७ लाख ५० हजार मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र चार लाख ९१ हजार डेबिट कार्ड होल्डर रहेका छन् ।

बैंकले ‘क्लिन आरबिबि, स्मार्ट आरबिबि’ भन्ने नाराका साथ बैंकले चालू आवमा २० शाखालाई स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याउने जनाएको छ। साथै बैंकले चालू आवमा देशका ११ स्थानमा आफ्नै भवन निमार्ण गर्ने समेत बताएको छ । ५४ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले माघ १० गतेदेखि नक्साल, पुल्चोक र हेटौंडा शाखालाइ स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याएको छ भने जजरकोट, रूकुम, मुस्ताङ गरि तीन शाखा विस्तार समेत गरेको छ । बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यलय स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लामा कूल दुई सय १७ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालू आवमा २३ नयाँ शाखा २५ शाखा रहित बैंकिङ्ग र ३५ एटीएम थप गर्ने बैंकको योजना छ ।