अछाम /अछाम जिल्लामा आएको असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ ।बिहीबार राति र शुक्रबार गरेर आएको असिनापानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएको हो । असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको छ ।पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको भए पनि असिनाले हिउँदे बालीमा क्षति पुर्याउँदा मर्का परेको मंगलसैन ६ का किसान नन्दाराम भण्डारीले बताउनु भयो । ‘असिनाले बारीमा लगाएको प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बाली तथा फलफुल खेती र तोरी बालीमा क्षति पुर्यायो,’ उहाँले भन्नुभयो, ‘लगाएको खेती जम्मै क्षति पुर्याएपछि अब के खाने भन्ने समस्या हुने भयो ।’
वर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बाली असिनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेको मंगलसैन नगरपालिका वडा नम्बर(६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।
असिनापानीले क्षति पुगेका कृषकलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि उहाँले बताउनुभयो । राहतका लागि शुक्रबार नै वडा कमिटी को बैठक बसेर नगरपालिका, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय गरेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो ।त्यस्तै अछामको मेल्लेख गाउपालिका वडा नम्बर६ शोडषामा हावाहुरीले ७ वटा घरमा क्षति पुरयाएको छ । स्थानीय नृप विक, लाल विक, ध्वज बहादुर खडका, शोभादेवी कडायत लगायतको घरमा क्षति पुर्याएको छ भने नवज्योति आधारभूत विद्यालयको समेत पर्खाल भत्काएको स्थानीय तेज बहादुर विकले जानकारी दिनुभयो ।अछाम जिल्लाको अधिकांश ठाउँमा असिना परेको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ ।












