बुटवल/ नन्द–भाउजु ताल, सिंसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरणका बावजुत सम्भावना बोक्दा बोक्दै ओझेलमा परेको बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुह (चिमटिप) रुपन्देहीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० बर्षे गुरुयोजना निर्माण तयारी थालिएको छ । महालक्ष्मी ईन्जिनियरिङ कन्सल्टेन्सी समन्वयमा ईन्जिनियर जिवन कुमार वन सहित सुदिप ढकाल र निशा वनले तयार गरेको नक्सांकन माथि आज आईतबार भएको छलफल तथा सुझाव संकलन (अन्र्तक्रिया) कार्यक्रमले गुरुयोजना मार्फत पर्यटकीय विकास गर्ने लक्ष्य बोकेको हो ।
ईन्जिनियर जिवन कुमार वन सहितको टोलीले तयार गरेको भिजुअल अनुसार बनको हालको संरचना तथा अवस्थालाई यथास्थितीमा प्राकृतिक स्वरुपमा राख्दै डुङ्गा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनीङ स्पर्टमा आधुनिक ढाँचा, भ्यू टावर निर्माण, कलात्मक आकर्षण गेट निर्माण, साईकलिङ तथा पद मार्ग निर्माण, फुटवल खेल मैदान र कर्भडहलको निर्माण, साँस्कृतिक कार्यक्रमको लागि आवश्यक भौतिक संरचना, बास्केट बल र टेवल टेनिस र्पोट निर्माण, योगा तथा सेमिनार हलको निर्माण, व्यवस्थित आधुनिक शैलीको गौशाला, पार्किङ स्थल निर्माण, रिङरोड निर्माण, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमेस्टे सञ्चालन लगायतका अवधारणाहरु रहेका छन् ।
भिजुअलको दृश्य अवलोकन पश्चात नक्सांकनमा केही अत्यावश्कीय छुटेका कुराहरुलाई समावेश गरेर गुरुयोजना निर्माण गर्नु पर्ने बन समीतिका पधादिकारी तथा सदस्यहरुले सुझाएका छन् । उनीहरुले शौचालय, विश्राम स्थल, मन्दिरको संरक्षण तथा प्रवद्र्धन, पार्किङको आवश्यकता र स्थिती, प्रवेश क्षेत्रको जानकारी, प्राकृतिक संरचनामो डुङ्गा सयरको अवस्थालाई विस्तृत रुपमा खुलाएर ताल तथा सिमसार क्षेत्रमा धार्मिक आस्थाका मठ–मन्दिर, गुम्वा, चर्च तथा मस्जिदको सम्भावना र आवश्यकतालाई पनि खुलाएर गुरुयोजनामा समावेश गर्नु पर्ने औल्याएका छन् ।
बनका अध्यक्ष भोला प्रसाद यादवको अध्यक्षतामा तथा सचिव बिमला केसीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रम सुझाव र सल्लाहको लागि धन्यवाद दिंदै अध्यक्ष यादवले बाउन्नकोटी सामुदायिक बनको गुरुयोजनालाई राष्ट्र कै नमूना बनको रुपमा विकास गरेर आयआर्जनका श्रोतहरुमा पनि बृद्धि गर्न सकिने धारणा प्रस्तुत गरे । एक सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको बनमा हाल तीन सय ८० जना सदस्यहरु रहेका छन् भने साविक चिल्हिया, मधवलिया, टिकुलीगढ, पडषरी गाविसका चार हजार भन्दा बढी स्थानियहरुले लाभ लिएका छन् । यस क्षेत्रकै एक मात्र पाँच तारे होटल टाईगर प्यालेस रिर्सोट बनको पर्यटकीय विकासको लागि बाह्य पर्यटनको आधार स्तम्भ पनि हो ।












