झविन्द्र देवकोटा,बुटवल- बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ दृष्टि विहीन तथा बटुक विद्यार्थीलाई शैक्षिक सामग्रीत तथा खाद्यान्न सहयोग, असहायलाई खाद्यान्न सहयोग, रक्तदान लगायतका रचनात्मक कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
यस्तै सहकारीले आफ्नो स्थापना तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । बुटवल रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा गरेको रक्तदान कार्यक्रममा करिव ३५ जनाले रगतदान गरेको संस्थाका अध्यक्ष मित्रबहादुर शाक्यले जानकारी दिनुभयो ।यस्तै सहकारीले बुटवल दीपनगरमा रहेको निलकण्ठ बाबाधाम सन्तोषी माता गुरुकुल विद्या पिठका बटुक विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष शाक्य लगायतको टिमले गुरुकुलका सचिव प्रेमप्रसाद भुर्तेल मार्फत उक्त सामग्री गुरुकुललाई प्रदान गरेका हुन् । यस्तै तिलोत्तमा मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि विहीन विद्यार्थीहरुलाई इन्द्रेणीले शैक्षिक सामग्री व्रेल लिपी, खाद्यान्न तथा फलफुल लगायतका सामग्रीहरु सहयोग गरेको छ । स्थापना दिवसको अवसर पारेर विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई शैक्षिक सामग्री र खाद्यान्न प्रदान गरिएको इन्द्रेणीका सचिव नेत्रलाल अर्यालले जानकारी दिनुभयो ।
यसैबीच इन्द्रेणीले बुटवल मिलनचोकमा रहेको मानवसेवा आश्रममा आश्रित असहायको सहयोगका लागि चामल, चिउरा तथा फलफुल लगायतका सामग्री समेत प्रदान गरेको छ । आश्रमका संरक्षक शेरबहादुर गौतम मार्फत खाद्यान्न समाग्री सहयोग गरिएको स्थापना दिवस कार्यक्रमका संयोजक धुर्वकुमार धितालले बताउनुभयो । सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा यस्ता रचनात्मक कार्यक्रम गर्दै निरन्तरता दिदै आएको धितालको भनाई छ ।












