एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिने

प्रकाशित मिति:

काठमाडौं। एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ। एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको हो।प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेपछि ओमले एनएमबीलाई छानेको हो। प्राइमले ओमलाई प्रति शेयर साढे ८२ रुपैयाँका दरले प्राप्ति गर्न खोजेको थियो। कर्मचारी समायोजनमा बिबाद भएपछि ओम र प्राइमको मर्जर सैद्धान्तिक स्वीकृति पाएपछि तोडिएको हो।

एनएमबी र ओमका मर्जर समिति संयोजकहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। एनएमबीबाट प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।ओमको अहिले शेयर रोक्का छ। मर्जरको निर्णय गरेकाले अब एनएमबीको पनि शेयर कारोबार रोक्का हुने छ।संस्थागत सुशासन राम्रो भएकाले एमएमबीलाई मर्जरका लागि छानेको प्रधानले बताए। पाण्डेले भने दुई संस्था गाभिएपछि अझ सबल र बलियो बन्ने बताए।

अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।ओमको पूँजीबाट उब्रिएको पैसा जगेडा कोषमा जाने छ। जगेडा कोष ८ अर्ब २८ करोड रुपैयाँको हुने छ। यो रकमबाट बैंकले बोनस शेयर दिन सक्छ।चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तिय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ। हाल एनएमबी बैंकसँग ९३ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप छ भने ओमसँग २४ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप छ।

ऋण लगानी पनि एक खर्ब १२ अर्ब रुपैयाँ नाघ्नेछ। हाल एनएमबीले ९० अर्ब रुपैयाँभन्दा माथिको ऋण लगानी गरेको छ भने ओमले २२ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको छ।गाभिएपछि ओम डेभलपमेन्ट बैंकको नयाँ बैंकमा शेयर हिस्सा १६।३९ प्रतिशत हुनेछ भने एनएमबी बैंकको ८३।६० प्रतिशत कायम हुनेछ। हाल एनएमबी बैंकको २० प्रतिशत शेयर नेदरल्याण्ड( एफएमओको रहेको छ। ओम गाभिएसँगै एफएमओको शेयर स्वामित्व घट्नेछ। यही अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व गरिने छ।एनएमबीमा एफएमओको २० प्रतिशत अर्थात एक अर्ब ९२ करोड रुपैयाँ शेयर पूँजी रहेको छ। यहि पूँजीका आधारमा उसको २० प्रतिशतको हिस्सा १६।७२ प्रतिशतमा खुम्चिने छ।हाल एनएमबी बैंकको कस्ट अफ फण्ड ७।२५ प्रतिशत रहेको छ भने ओमको ९।०५ प्रतिशत छ। यसले गर्दा एमएमबीको कस्ट अफ फण्डमा केहि प्रभाव पर्ने देखिन्छ। ओमको केहि महँगो व्याजदरको निक्षेप स्वीकार्नु पर्ने भएकोले आधार व्याजदर र कस्ट अफ फण्डमा थप दवाव पर्ने देखिएको हो।तुलनात्मक रुपमा खराव कर्जा दुबै बैंकको एक प्रतिशतभन्दा माथि नभएको हुँदा यसले खासै प्रभाव पार्ने देखिन्न। हाल एनएमबी बैंकको शाखा कार्यालय ११० वटा र ओमको ५३ वटा रहेको छ। मर्जर दुई महिनाभित्र सक्ने तयारी छ।