बजेट आधारभूत रुपमै परिवर्तन गर्नैपर्छ : चौधरी

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले बजेटलाई आधारभूत रुपमै परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा जारी बजेटमाथिको छलफलका क्रममा सांसद चौधरीले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन बजेटलाई आधारभूत रुपमै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत फण्डामेन्टल चेञ्ज (आधारभूत रुपमै परिवर्तन) गर्नुपर्छ,’’ उनले भने । चौधरीले गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत देखिएको चौधरीले बताए । देशमा आएको ठूलो राजनीतिक परिवर्तनले पनि जनतालाई फाइदा हुन नसकेको भन्दै उनले विनियोजन गरिएको विकास खर्च गर्ने क्षमता पनि सरकारमा नदेखिएको टिप्पणी गरे ।

सरकारले पूर्वाधार विकास गरे पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सार्क र विमस्टेक क्षेत्रको गन्तव्य नेपाल बन्न सक्ने उनको भनाइ थियो । नेपाललाई सार्क र विमस्टेक क्षेत्रको गन्तव्य बनाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्नेमा उनको जोड थियो । ‘‘शैक्षिक गन्तव्य बन्न सक्ने ठाउँमा सरकारले पूर्वाधार बनाएर अरु मुलुकले दिएको सुविधा भन्दा बढी सुविधा दिनुपर्छ,’’ सांसद चौधरीले भने ।