सबै समूह घट्दा नेप्से पनि ओरालो

प्रकाशित मिति:

काठमाडौं – साताको पहिलो दिन आइतबार बजारमा सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ११ दशमलव ३६ अंकको गिरावट आएको छ । आइतबार नेप्से ११ दशमलव ३६ अंकले घटेर एक हजार २ सय ५८ दशमलव २७ अंकमा पुगेको हो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८७ अंकले घटेर २ सय ६९ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचक लगातार तेस्रो दिन घटेको हो । बजेट आएपछि दुई दिन नेप्से बढे पनि त्यसयता गत मंगलबार झिनो अंकको सुधार आउनुबाहेक सेयर बजारले फड्को मार्न सकेको छैन । नेप्से घटेको दिन बजारमा १ सय ७४ कम्पनीका १४ लाख ७३ हजार ८ सय ८ कित्ता सेयर ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँमा कारोबार भए । आज बजारमा कारोबारमा आएका सबै ११ वटै समूहगत उपसूचक ओरालो लागेका छन् ।

साताको पहिलो दिन सेयर बजारमा नेपाल बैंकको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर दुई करोड ९५ लाख ८० हजार ५ सय ६४ रुपैयाँमा कारोबार भएको हो । नेप्से घटेको दिन नेपाल एग्रो लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ६ दशमलव ७५ प्रतिशतले बढेको हो । त्यसैगरी महिला सहयात्री माइक्रो फाइनान्सका लगानीकर्ताले सर्वाधिक ७ दशमलव ८७ प्रतिशत सेयर मूल्य गुमाए ।