सबलपोष्ट । काठमाडौंको कालिमाटीमा पुगेर विषादी परीक्षण गर्नुपर्दा हुने ढिलाईले भारतबाट आयात हुने तरकारी र फलफूल नेपालका थोक बजारसम्म आइपुग्दा कुहिएर आउन थालेको छ । सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून अघिल्लो हप्ताबाट लागु गरेको छ । तर सबै भन्सार नाकाहरुमा प्रयोगशाला नहुंदा देशभरका नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण कालिमाटी पु¥याएर गर्नुपर्ने वाध्यता छ ।
तरकारी र फलफूलका नमूना त्यहां पुयाएर रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने गरेको व्यवसायीहरु बताउंछन् । दुई दिनसम्म नाकामा रोकिएर नेपालका थोक बजारसम्म आइपुग्दा तरकारी र फलफल कुहिएर÷बिग्रेर आउन थालेको लुम्बिनी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष केशव कुंवरले बताए । सरकारी प्रयोगशालाले विषादीरहित छ भनेर प्रमाणित गरेका तरकारी र फलफूल नेपाली बजारमा आइपुग्दा कुहिएर आइपुग्नुले प्रयोगशालाको विश्वसनीयता माथि नै प्रश्न उठेको पनि कुंवरले बताए । ‘बुटवलको थोक बजारमा आउने तरकारी र फलफूल मात्रै लाखौं मूल्य बराबरको कुहिएर आइपुगेको छ,अन्य ठाउंको हिसाब गर्दा करोडौंको तरकारी र फलफूल कुहिएर आएको छ’–कुंवरले भने–‘व्यवसायीलाई हुने नोक्सान एकातिर छ,त्यो भन्दा महत्वपूर्ण यसरी कुहिएका वस्तुलाई ठीक छ भनेर प्रमाणित कसरी गरियो ? यसको जिम्मेवारी सरकारले लिने कि नलिने ?’ अध्यक्ष कुंवरका अनुसार अहिले मुलुकका सबै नाकाबाट आउने तरकारी र फलफूलको विषादी अवशेष परीक्षण काठमाडौंमै लगेर गर्नुपर्छ । एउटा मात्रै प्रयोगशालाले समयमै परीक्षण गर्न नभ्याएर ढिलाई हुंदा व्यवसायीले यो बीचमा करोडौं नोक्सानी बेहोर्नुपरेको कुंवरले बताए ।
सामान्यतया अधिकांश तरकारी र फलफूलको विषादी अवशेष परीक्षण ६ देखि १२ घण्टाको बीचमा गरिसक्नुपर्छ । तर कालिमाटी पु¥याएर गर्दा कम्तीमा दुई दिन लागेको व्यवसायीहरु बताउंछन् । धनगढी,महेन्द्रनगरका लागि त झन् बढी समय लाग्ने व्यवसायी बताउंछन् । समयमै विषादीको अवशेष परीक्षण हुन नपाउंदा प्रयोगशालाले सही रिपोर्ट दिन नसकेका कारण कुहिइएको तरकारी र फलफूल भित्रिन थालेको व्यवसायीको भनाई छ । बुटवल कृषि उपज थोक बजार केन्द्रका तरकारी व्यवसायी मेघराज पौडेलले सरकारले हचुवाको भरमा यस्तो नियम लागु गर्दा ब्यवासायी र उपभोक्ता दुबै मारमा परेको बताउंछन् । विषादी परीक्षणमा भइरहेको ढिलाईले बजारमा बिग्रिएको तरकारी र फलफूल भित्रिन थालेको र अभाव सिर्जना भई मूल्य आकाशिएको उनले बताए । ‘आलु,प्याज,गोलभेंडा सबै बिग्रेर आउन थालेको छ, माग अनुसार आपुर्ति नहुंदा मूल्य पनि झण्डै दोब्बरले बढेको छ’–पौडेलले भने । व्यवसायीहरुले सबै नाकामा विषादी अवशेष परीक्षण प्रयोगशाला तत्काल स्थापना नगर्ने हो भने व्यवसायीको अर्बौं रुपैयां नोक्सान हुने र मूल्य समेत थप आकाशिने दावी गर्छन् । ‘सरकारले सिंहदरबार र बालुवाटारमा फलाएर बांड्ने त पक्कै हैन होला’–कुंवरले भने–‘हामी विषादी परीक्षणको पक्षमै छौं तर अन्यथा पहिले नेपाल तरकारी र फलफूलमा आत्मनिर्भर हुनुपयो ।’ नयाँ व्यवस्थामा तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण लिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ । बुटवलमा भएको विषादी अवशेष दू्रत परीक्षण इकाई (प्रयोगशाला) ८ महिनादेखि बन्द छ । भैरहवा भन्सार, क्वारेन्टाइन चेकपोष्ट र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग विषादी जाँच गर्ने पेस्टीसाइड एनलाइसिस प्रोमोटोग्राफी मेसिन छैन ।












