सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति:

प्रतितोला ६६ हजार ३ सयमा कारोबार
काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको मूल्य प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको छ। छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ हुँदा तेजावी सुन ६६ हजार रुपैयाँमा कारोबार भएको छ। शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै शुक्रबार तेजावी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ५ सय रुपैयाँ बढेर ६६ हजार रुपैयाँ पुगेको छ।

आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले बताए। ‘सुनको मूल्य बढ्नुको मुख्य कारण चीन अमेरिकाको व्यापार सम्बन्ध चिसिनु नै हो,’ उनले भने, ‘डलरमा हुने लगानी सुनतर्फ आकर्षित भएकाले सुनको मूल्य बढेको हो।’ यसअघि असार ५ गते सुनको मूल्य तोलामा ६४ हजार रुपैयाँ थियो। २०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो रेकर्ड तोड्दै सुनले आज ६६ हजार ३ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १४ सय ४०.६८ अमेरिकी डलर रहेको छ। अन्तर्राट्रिय बजारमा सुनको मूल्य लगातार बढी रहेकाले नेपाली बजारमा यसको प्रभाव देखिएको महासंघको भनाइ छ।