काठमाडौँ –नेपाल टेलिकमको नाफा आर्थिक वर्ष २०७५र०७६ मा झण्डै ४९ प्रतिशतले घटेको छ । कम्पनीको दुरसंचार सेवा बापतको आम्दानीमा उच्च गिरावट आउनु र खर्चमा अत्याधिक वृद्धि हुनाले नाफामा घटेको वित्तीय विवरणमा देखिन्छ ।आर्थिक वर्ष २०७५र०७६मा नेपाल टेलिकमको नाफामा उच्च गिरावट आएको छ । टेलिकमको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ दशमलव ६१ प्रतिशतले घटेको छ । टेलिकमले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत वर्ष ७ अर्ब २७ करोड रुपैयाँले नाफा घटेको छ ।
आर्थिक वर्ष २०७४र०७५मा १७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको टेलिकमले गत आर्थिक वर्षमा जम्मा १० अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । दुरसंचार सेवा मार्फतको आम्दानी २ अर्ब ७३ करोड रुपैयाँले घटेको छ । त्यस्तै टेलिकमले गत वर्ष ४ अर्ब २ करोड रुपैयाँ लाइसेन्स नविकरणका लागि भुक्तानी गरेपछि नाफामा गिरावट आएको वित्तीय विवरणमा देखिन्छ ।प्रशासनिक खर्च पनि ११ प्रतिशतले बढेको छ । प्रशासनिक खर्च मात्रै १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । प्रशासनिक खर्चसहित कुल खर्च २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यस्तो खर्च अघिल्लो वर्ष भन्दा ३ अर्ब ५७ करोड रुपैयाँले बढी भएको छ । टेलिकमको प्रविधि सुधारका लागि राजनीति व्यक्ति र अख्तियारसम्मले हस्तक्षेप गर्दै आउँदा नाफामा प्रभाव परेको देखिन्छ ।












