साताको अन्तिम दिन १८ अंक घट्यो नेप्से

प्रकाशित मिति:

काठमाडौं – सातामा कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव १२ अंकले घटेको छ। यो सातामा कारोबारमा आइतबार र सोमबार नेप्से दोहोरो अंकले घटेको थियो भने मंगलबार र बिहीबार उच्च अंकले बढेको थियो। बिहीबार फेरि घटेसँगै नेप्से परिसूचक १ हजार १ सय ५५ दशमलव ३० अंकमा कायम भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४९ अंकले घटेसँगै ५ सय ५२ दशमलव २१ अंकमा कायम भएको छ।

बिहीबार १ सय ६६ वटा कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर ७ हजार ५ सय ३५ पटक खरिद बिक्री हुँदा ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार व्यापार समूहको उपसुचक २ दशमलव ३७ अंकले र म्युचुअल फण्ड समूहको उपसुचक शुन्य दशमलव शुन्य दुई अंकले बढ्नुबाहेक बाँकी सबै समूहको उपसुचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसुचक १ सय ५ दशमलव ३२ अंकले घटेको छ। बिहीबारको कारोबारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट कम्पनीको ५ करोड २४ लाख ६२ हजार ५ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ। सेयर किनबेचका आधारमा भने प्रभु बैंकको १ लाख ३९ कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन्।