काठमाडौं – इन्जीयरिङ पढ्न काठमाडौं आएका जीवन शर्मा इन्जीनियर बनेनन्। जनताका गायक बने। इलेक्ट्रिकल इन्जिनियरको छ सेमेस्टरसम्म पढे उनी त्यसपछि के भयो त? उनी ठट्यौली पारामा भन्छन्, ‘२०३६ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा लागियो अनि छोरोको धनाढ्य हुने खतरा टर्यो।’ एकदिन पक्तीकारले जनगायक जीवन शर्मालाई उनको डेरामा सोध्यो, ‘तपाई इन्जीनियर भएको भए घट्टेकुलोमा त आफ्नै घर हुन्थ्यो होला है?’ जिज्ञासा सुनेर शर्मा मुसुक्क हास्दै भने, ‘के हुन्थ्यो र म इन्जीनियर नभएर यहाँ घर संख्या कम पनि त भएको छैन नी।’ सादा जीवन बाँचेका जीवन शर्माले जीवनमा ठूला ठूला अवसर पनि नपाएका होइनन्। तर जनताको दुख वेदना गाउने मान्छे जनता जस्तै हुनुपर्ने बताइरहे। उनी भन्थे, ‘जुन दिन हरेक जनता सुखी हुन्छन्। समृद्ध हुन्छन्। त्यसै दिन म पनि विलासी जीवन बाँचुला।’ उनै जनताका लोकप्रिय गायकले जीवनमा धेरै हण्डर र ठक्कर खाएका छन्।
जनताका लागि गीत गाउँदा गाउँदै आफनो जीवनको लय कहाँनेर बिग्रो उनलाई थाहा छैन। न त उनलाई यस विषयमा कूनै पश्चाताप छ। तर बुधबार उनलाई टिचिङ अस्पतालमा भेट्दा उनी अलि भावुक देखिए। सधैँ मुस्कान ओठमा नछुटाउने शर्मा अहिले भने आफ्नै छोरा बिरामी हुदाँ उपचारका लागि रकम नहुदाँ दुखी भएका छन्। उनले भने, ‘सबथोक सहन सकिने रहेछ। तर सन्तानको पिडामा मल्हम पट्टी लगाउन नसक्दा भने एउटा बाबुले कल्पना गर्नै नसकिने पिडाबोध हुने रहेछ।’ उनको माइला छोरा छातीमा मासु हड्डी अड्किएको छ। त्यसको गरिएको अप्रेशनको कारण शर्माको छोराको स्वास्थ्य अवस्था झन जटिल बन्दै गईरहेको छ ।
शर्माको छोराको अझै ठुलो अपरेशन गर्नु पर्ने भएको हुँदा अब उपचारको लागि उनीसँग आवश्यक रकम छैन। सर्वहारा जनताको पक्षमा लागेर हिँडेको मान्छे, आफूले भोगेका जुनसुकै कठिनाइहरू आफ्ना निजी सम्पति हुन् भन्ने ठान्छन् उनी। तर छोराको उपचाररत उनीसँग अब कुनै विकल्प छैन। जनताको पक्षमा उभिएका उनै शर्मालाई आज जनताको साथ आवश्यक छ। तीन दशकभन्दा लामो गायन यात्रामा हालसम्म रक्तिम परिवारको नेतृत्व गरिरहेका उनको संस्थाबाट झण्डै चार दर्जन गीति क्यासेट बजारमा आएका छन्। यस्तै, अहिलेसम्म ५०० को हाराहारीमा गीतहरू रेकर्ड भइसकेको छन्। उनका गीत मन नपराउने विरलै होलान्। उनी कम्युनिस्ट भए पनि उनका गीत सबै वर्गका मान्छेलाई उति नै लोकप्रिय छन्। उति नै कर्णप्रिय लाग्छन्।









