अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । आज एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो । विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुने गरेको छ । पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ बढेको केन्द्रीय बैंकले जनाएको छ । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनुलगायत कारणले अमेरिकी अर्थतन्त्र पछिल्लो समय बलियो बन्दै गएको छो । राष्ट्र बैंकका डेपुटी गभर्नर एवं विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले अमेरिकी अर्थतन्त्रका आधारभूत सूचकहरू कुल गार्हस्थ उत्पादन, बेरोजगारी, मूल्य वृद्धि लगायतमा उल्लेख्य सुधार भएको बताउनुभयो । पछिल्ला दिनहरूमा भारतीय मुद्रा निरन्तर रूपमा कमजोर बन्दै जादा पनि नेपाली रुपैयाँ अवमूल्यन भएको हो ।












