रुपन्देही माछाका भुरा उत्पादनमा आत्मनिर्भर बन्दै

प्रकाशित मिति:

रुपन्देही माछाका भुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । सरकारीसहित निजी ह्याचलिङ र नर्सरीकर्ताले भुरा उत्पादन गर्न थालेपछि जिल्ला भुरा उत्पादनमा आत्मनिर्भर बनेको हो । रुपन्देहीमा वार्षिक करोडौं माछाका भुरा उत्पादन हुँदै आएको छ । निजी तथा सरकारी उत्पादनकर्ताहरुले जिल्लाको आवश्यकताअनुसार भुरा उत्पादन गर्दै आएपछि रुपन्देही भुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा मत्स्य विकास केन्द्रसहित निजी क्षेत्रबाट संचालित ह्याचलिङ्कर्ताहरु ४ वटा छन् । यी निजी ह्याचलिङ्ले जिल्लाको कुल मागको ८० प्रतिशत भुरा उत्पादन गर्दै आएका छन् । यस्तै आकारअनुसारका माछा राख्नका लागि निजी क्षेत्रका २ वटा नर्सरी पनि छन् । माछा पालनमा आकर्षण बढ्दै जाँदा भुरा उत्पादनकर्ताहरु पनि बढ्दै गएका हुन् ।
मत्स्य विकास केन्द्रले मात्रै आर्थिक वर्ष ०७४÷०७५ मा करोडोभन्दा बढी भुरा उपादन गरी विक्रीवितरण गरेको छ । कार्यायका अनुसार ह्याचलिङ् ४ करोड ६८ लाख उत्पादन भएको छ । यस्तै फ्राई १० लाख ४० हजार र फिङ्गलिङ् ३४ लाख ५२ हजार उत्पादन भएको छ । माछा पालनमा आकर्षण बढ्दै जाँदा सरकारले २०७३÷०७४ बाट सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत जिल्लाको मायादेवी, सुद्धोधन, सियारी र गैडकवालाई मत्स्य जोनको रुपमा विकास गरिँदै छ । रुपन्देही कुल १० हजार ८० हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ । मत्स्य विकास केन्द्रकाअनुसार प्रति हेक्टर क्षेत्रफलमा एक पटकमा १० हजार भुरा राख्न सकिन्छ ।