काठमाडौं – राजस्व छल्ने कार्य नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बीजक प्रयोग गरी १ अर्ब २९ करोड ३६ लाख एकहजार ५ सय ६२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विनोदकुमार अग्रवालसहित २१ जनाविरूद्ध मुद्दा दायर गरेको छ । विभागले बाराको कलैया नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–३ धोबिघाट बस्ने विनोदकुमार अग्रवाल, झापा अनारमनी घर भई ललितपुरको हात्तीवन बस्ने विकास अग्रवाललगायतले कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा नक्कली फर्म खडा गरी झूठा तथा नक्कली भ्याट बीजक प्रयोग गरी राजस्व छलेको अभियोगमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले निम्न आय भएका विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिङ, जेनिशा ट्रेड एन्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राइजेज प्रालि, सीमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, श्रीअन्तु जनरल सप्लायर्स गरी १३ वटा विभिन्न फर्म र कम्पनी खडा गरेका थिए ।
२१ जनाविरूद्द मुद्दा
१ अर्ब २९ करोड ३६ लाख रुपैयाँ भ्याट छलेको आरोप राजस्वमाराहरूले सरकारलाई झुक्याउन अर्काको नाममा यस्ता नक्कली कम्पनी दर्ता गरी वास्तविक रूपमा मालवस्तु खरिद बिक्री नै नगरी विभिन्न फर्मलाई झूठा तथा नक्कली भ्याट बीजक मात्र बिक्री गरी त्यस्ता फर्महरूबाट जारी भएका भ्याट बीजकमा उल्लेखित कर सरकारको राजस्व खातामा नबुझाई छलेको देखिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । यी फर्मबाट जारी भएको झूठा तथा नक्कली भ्याट बिल बीजकबाट खरिदकर्ताले मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी भ्याट तथा आयकर दायित्व घटाई कुल १ अर्ब २९ करोड ३६ लाख एकहजार ५६२ रूपैयाँ राजस्व छली गरेको देखिकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ को दफा ३ ले निषेधित ऐनको दफा ४ को उपदफा (क) र
(ख) बमोजिमको कसुरजन्य कार्य भएको पाइएकाले व्यवसायी अग्रवालसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।
यस्ता छन् राजस्व छलीमा संलग्नहरू
१. बिनोदकुमार अग्रवाल – मुख्य व्यक्ति
२. विकास अग्रवाल – मुख्य व्यक्ति
३. पार्वती महरा –प्रोप्राइटर
४. शिवशंकर बोगटी – प्रोप्राइटर
५. पूजा महरा – प्रोप्राइटर
६. अम्बिका अधिकारी – प्रोप्राइटर
७. अशोक अधिकारी – प्रोप्राइटर
८. शेरबहादुर कार्की – प्रोप्राइटर
९. धर्मप्रसाद दहाल – प्रोप्राइटर
१०.जानुका अधिकारी – प्रोप्राइटर
११.रेनुका अधिकारी – प्रोप्राइटर
१२. किरण थापा – प्रोप्राइटर
१३. सविन कणेल – प्रोप्राइटर
१४. शिवमन्दिल श्रेष्ठ – व्यवसायी
१५. बालनकुमार श्रेष्ठ – व्यवसायी
१६. भुवन पाण्डे – चार्टर्ड एकाउन्टेन्ट
१७. कृष्णहरि मरहठ्ठा –लेखा परीक्षक
१८. देवराज उपाध्याय – लेखा परीक्षक
१९.संजयराज पाण्डे गुरुघराना – लेखा परीक्षक
२०. निरोज केसी –कर सहयोगी
२१.गोपालप्रसाद भट्टराई –कर सहयोगी
विभागका सूचना अधिकारी राजीव पोखरेलले कुल २१ जनामध्ये मुख्य व्यक्ति विनोदकुमार अग्रवाल र विकास अग्रवालसँग सो रकम बिगोसहित दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय र मतियारलाई त्यसको आधा सजायको माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको जानकारी गराए । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिएको बताउँदै उनले अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बीजक प्रयोग गर्नेदेखि लिएर भ्याट बिलको नक्कली कारोबारलगायत अहिले मजदुरको नाममा नक्कली फर्म खडा गरी राजस्व छल्न खोज्नेहरूविरुद्ध मुद्दा दायर गरिएको बताए । उनले राजस्वमाराले योजनाबद्ध रूपमा गरेको यस्तो कार्यविरुद्ध अहिले यस विभाग कडा रूपमा प्रस्तुत भइरहेको बताए । राजधानी दैनिकबाट ।












