नेपालमा प्याजको मुल्य अहिले सम्मकै धेरै, अझैं बढ्ने आशंका

प्रकाशित मिति:

काठमाडौं – पछिल्लो समय नेपाली बजारमा प्याजको मूल्य अचानक बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो कायम गरिएको थियो ।

तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेपछि सर्वसाधारण मारमा परेका छन् । कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ । कालीमाटी बजार बाहिरका खुद्रा पसलमा प्रतिकिलो मूल्य साढे दुई सय हाराहारी पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठले आफ्नो जानकारीमा भएअनुसार प्याजको मूल्य अहिलैसम्मकै उच्च भएको बताउनुभयो ।

स्वदेशी उत्पादन अन्त्यन्तै कम भएको र भारतबाट आयात रोकिएका कारण मूल्य उचाईमा पुगेको हो । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार प्याजको दैनिक आयात १० टन हाराहारी मात्रै छ । सामान्य अवस्थामा प्याजको आयात दैनिक ८० देखि ९० टन हाराहारी हुन्थ्यो । पाकिस्तानमा पनि भारतले प्याज, टमाटर रोक्दा मुल्य आकाशिएको छ । भारतमा अहिले प्याज १०० रुपैयाँ (भारु) नेपाली १६० रुपैयाँ सम्म पुगेको छ ।