इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित ‘कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी र बचत संकलनकर्ताहरुले करिब १२ करोड रुपैया हिनामिना गरको तथ्य फेला परेको छ । सहकारीका कार्यालय सहायक राजेश कुमार कान्दुले १ करोड ४ लाख ३२ हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ । त्यस्तैगरी सहकारीको सञ्चालक समितिले सहकारीको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बचत सञ्चालकहरु (अन्य चार जना) ले ५५ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको बताइएको छ । गत भदौ महिनासम्मको हिसाब चेकरजाँच गर्ने क्रममा प्रारम्भिक अवस्थामा यस्तो हिसाब देखिएको हो ।
हिसाबमा बचत संकलन कर्ता संजीवनमान शाक्य र तिजु कुर्मीले बक्यौता रकम सहकारीमा जम्मा गरेका छन । बचत संकलन कर्ता श्रवण कुमार गुप्ता तथा सुन्दर केशव गुप्ताले गरेको हिनामिना रकमलाई संस्थाले केही नगद दाखिला र बाँकी रकम ऋणमा परिणत गरी उनीहरुको हिनामिनालाई असुल उपर गर्ने प्रक्रिया अघि बढाएको छ । पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७५र७६ को लेखा परीक्षण अनुसार ऋण लगानीतर्फ तीन करोड ९ लाख २२ हजार ८ सय ७७ रुपैया फरक देखिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत मुकुन्द बर्माले बताए । बचत कर्ताहरुबाट संकलित निक्षेपमा ८ करोड ४० लाख ४० हजार ८ सय ६५ रुपैयाँ फरक देखिएको छ । पैसा झिक्नेको भीड बढेपछि सूचना टाँस गरी रकम अभाव देखाउदै आज बुधबार को दिनलाई सहकारी बन्द गरिएको छ ।












