उद्देश्यहीन काम गर्ने सहकारी निगरानीमा

प्रकाशित मिति:

बुटवल । सहकारीहरु जुन उद्देश्यले खोलीएका हुन् सोही अनुसार कार्य सम्पादन नगर्दा सहकारी संकटमा पर्न थालेको सारोकारवालाले बताएका छन् । सहकारीहरु बढीभन्दाबढी बचत तथा ऋणमै केन्द्रित हुँदा उद्देश्यहीन बन्दै गएको उल्लेख गर्दै उनीहरुले कोही सहकारीमा धेरै सदस्य र केहीमा कम हुनुले सहकारीमा समस्या देखिन थालेको बताए । बुटवल–४ मा रहेको हरियाली बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा सहभागि भएका सहकारीकर्मीहरुले उद्देश्यभन्दा बाहिर नगई उदेश्यमै केन्द्रीत हुन सहकारीहरुलाई सुझाव दिए । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुनाखर खनालले उद्देश्यहीन सहकारीहरु मर्जरमा आउनुको विकल्प नभएको बताउनुभयो ।

विभिन्न उद्देश्य लिएर सहकारी खोल्नु र पछि गएर मात्र बचत तथा ऋणमै समिति हुनुले सहकारीलाई समस्यामा पारेकाले अव उद्देश्यहीन काम गर्ने सहकारी निगरानीमा रहने उहाँले बताउनुभयो । हरियाली सहकारीका अध्यक्ष सिद्धार्थकुमार उदयको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष योगप्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष आशा श्रेष्ठ, सल्लाहकार हरिध्वज मल्ल, शेयर सदस्य राधाकुमारी पोखरेल, उपाध्यक्ष बेदनिधी रिजाल लगायतले सहकारीलाई उद्देश्यमुुलक तथा उत्पादनशिल बनाउनु पर्नेमा जोड दिनु भएको थियो । संस्थाका सचिव राजु भारीको संचालनमा भएको सो कार्यक्रममा जेष्ठ नागरिक निरजकुमार श्रेष्ठ, असल ऋणी सिता भुषाल, असल नियमित बचतकर्ता सृजना श्रेष्ठलाई सम्मान गरिएको थियो ।