काठमाडौं – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुँजी बजारको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री युवराज खतिवडासँग शपथ लिएर पदभार ग्रहणपछि उनले पुँजीबजारलाई अपेक्षाकृत विकास गराउनुपर्ने बताए । उनले अध्यक्षका लागि बोर्ड कर्मचारी पनि प्रतिस्पर्धी रहेको भन्दै चित्त नदुखाउन आग्रह गरे । उनले भने, “यो सरकारको नियुक्ति हो, प्रतिस्पर्धी साथीहरूले चित्त नदुखाउनु, मिलेर काम गरौं ।” लगानीकर्ताले स्वस्थकर लाभ पाउनुपर्ने भन्दै उनले पुँजी बजार विस्तारमा सबै लाग्न कर्मचारीलाई निर्देशन दिए । उनले कमोडिटी बजारको जग तयार पार्ने आफ्नो योजना रहेको पनि सुनाए । “पुँजी बजारमा तपाईंहरूको बढी अनुभव छ, तपाईंहरूकै सल्लाह र सुझावका आधारमा अगाडि बढ्ने हो, यस क्षेत्रमा मेरो गुरु तपाईंहरू हो, सँगै काम गरौं,” उनले सुनाए ।
उनले गुनासो अन्त्य गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारको अधिनमा रहरे पनि आफ्नो स्वाधीनताको भरपूर उपयोग गरी पुँजी बजारको विस्तारका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । कर्मचारीको मनोबल बढाउन हरदम तयार रहेको भन्दै उनले पुँजी बजार साक्षरता कार्यक्रम अगाडि बढाउने बताए । नवनियुक्त अध्यक्ष ढुंगानालाई बोर्डका कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौडेल र नीरज गिरीसहित कर्मचारीले स्वागत गरेका थिए । चारवर्षे कार्यकालका लागि सरकारले गएको मन्त्रिपरिषद्बाट ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतबाट बिजनेस फाइनान्समा पनि स्नातकोत्तर अध्यययन गरेका छन् । मोरङमा जन्मिएका ढुंगानाले २०४२ देखि २०४६ सम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए ।