सैनामैना मेलामा डेढ करोडको कारोवार

प्रकाशित मिति:

माधव ज्ञवाली  सैनामैना–११, कार्तिक
सैनामैना व्यापार मेलामा दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आईतबार चौथो दिनसम्म आईपुग्दा करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने १ करोड ५० लाख बराबरको आर्थिक कारोबार भएको व्यापार संघका सचिव एवम् मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो । आईतबार आधुनिक गायक रमेशराज भट्टराई,लोक तथा दोहोरी गायिका प्रिया भण्डारी,नन्दु परियार लगायत राष्ट्रिय तथा स्थानिय कलाहरुले दर्शकलाई सांगितिक माहोलमा नचाएका थिए ।
महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७५ मा आईतबार १४ जना प्रतस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् । १७ प्रतियोगी मध्ये उत्कृष्ठ १४ प्रतिस्पर्धी निर्णायकं र दर्शकको भोटिङको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको अतिरिक्त क्रियाकलाप संंयोजक देविदत्त सुबदीले जानकारी दिनु भयो । मेलामा आईतबार देखि वडास्तरीय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्धेश्यले दोहोरी प्रतियोगिताको आयोजना गरिएको हो । आईतबार देखि सुरु भएको वडा स्तरीय दोहोरी गीत प्रतियोगितामा वडा नं २ र ३ का बिचमा भएको प्रतिस्पर्धात्मक घम्साघम्सी दोहोरीमा वडा नं २ विजयी भएको सुबेदीले बताउनुभयो । मेलामा सोमबार वडा स्तरीय दोहोरी गीत प्रतियोगितामा वडा नं ४ र वडा नं १० का बिचमा दोहोरी प्रतियोगिता हुनेछ । सोमबारदेखि खुल्ला भलिबल प्रतियोगिता समेत हुने सुबेदीले जानकारी दिनु भयो । व्यापार मेलामा सोमबार जनगायक जीवन शर्मा, लोक तथा दोहोरी गायक बसन्त थापा,गायिका रुपा जि.एम,स्थानिय कलाकार शुरेश परियार लगायतको बेजोड प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले बताउनु भयो । देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित संगै सामाजिक एकता भन्ने मुल नाराका साथ संचालन भईरहेको सैनामैना औद्योगिक व्यापार मेला कार्तिक १८ गते सम्म सञ्चालन हुनेछ ।
कृषिको आधुनिकीकरण लागि अहिले लाग्ने गरेका मेला महोत्सवहरुले महत्व दिने गरेका छन् । सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा कृषिलाई विशेष प्रथामिकता दिइएको आयोजकले जानकारी दिएको छ । कृषि क्षे र कृषकहरुलाई प्रोत्साहन दिनका लागि कृषिको छुट्टै स्टल बनाई कृषिको बारेमा चेतना अभिवृद्धि सम्बन्धी जानकारी दिने काम गरिएको छ । खाद्य तथा पोषण सुरक्षा, रोजगारी र गरिबी न्यूनीकरण तथा व्यापार सन्तुलनमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान छ । कृषक तथा अन्य सरोकारवालाहरुको आवश्यकता अनुरुप कृषि तथा पशुपंक्षीजन्य बस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी जनताको आर्थिक स्तरमा सुधार गर्नुका साथै कृषकलाई प्रोत्साहनका लागि महोत्सवले कृषि स्टललाई विशेष प्रथामिकता दिइएको आयोजकले जानकार िदिएका छन् ।
जसमा वास्तविक कृषकलाई प्रोत्साहन स्वरुप कृषिका १२ वटा स्टलहरुलाई निशुल्क राखिएको मेलाका कृषि तथा पशुपन्छी प्रविधि संयोजक शिव भुसालले जानकारी दिनुभयो । उहाँले मेलामा कृषि स्टलका अवलोकन कर्तालाई कृषि तथा पशुपन्छी विज्ञहरु राखी परामर्श समेत गराइएको बताउनु भयो । महोत्सवमा पशुपन्छीको संरक्षण र अष्ट्रिज चराको महत्वका बारेमा मेला अवलोकन कर्तालाई जानकारी गराउने उद्धेश्यले अष्ट्रिज चरालाई प्रर्दशनमा राखिएको छ ।