प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

काठमाडौँ / प्रतिनिधिसभा बैठक आज बस्दैछ ।सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने सम्भावना छ। बैठक बिहान साढे ११ बजे बस्दैछ ।

यसअघि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसीसी थपिने र सभामुख पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन्।कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal