बन्दको प्रभाव लुम्बिनी प्रदेशमा सामान्य

बुटवल – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ ।विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसीसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् ।

लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधबारका लागि मंगलबार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलहरुले एमसीसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal