बुटवल,२७ कार्तिक ।
राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले बर्तमान सरकारप्रति आम नेपाली जनताले राखेको अपेक्षा धारासायी हुने होकी भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश समितिद्धारा मंगलबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले दुई तिहाई बहुमतको सरकारबाट आम नेपाली जनताको जिवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरेकोले जनताको अपेक्षा पुरा गर्ने तर्फ सरकार दृढतापूर्वक अगाडी बढ्नुपर्नेमा जोड दिए ।
सरकारका काम कारबाही सन्तोषजनक रुपमा अगाडी बढ्न नसकेको भन्दै उनले यो वा त्यो बहानामा सरकार बिकास निर्माणको महान अभियानबाट बिचलित भए दुई तिहाई बहुमत प्राप्त बर्तमान सरकारप्रति जनताको आशा र भरोसामा तुषारापात हुने बिचार व्यक्त गरे ।
अबको दशक निर्माणको दशकको रुपमा लिनुपर्ने बताउदै उनले सत्ता पक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको बिकास हुनुपर्ने आवस्यकता औल्याए ।
नयाँ प्रयोगको नाउमा पुरानै गल्ती दोहो¥याउदै जानु खेदजनक रहेको भन्दै जनमुक्ति पार्टीका बिदेश बिभाग उप प्रमुख तथा जनमुक्ति एकेडेमीका उप प्रमुख समेत रहेका अस्लामीले निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
नेपालको संबिधान २०७२ ले मुलुकको बिबिधता र बिशिष्ठतालाई आत्मसाथ गर्न नसकेको भन्दै उनले संबिधानको पुनर्लेखन गर्नुपर्नेमा जोड दिए ।

नेपालको बिबिधताको ब्यवस्थापनकालागि पाँच कलष्टरको आधारमा पाँच सदस्सीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने बताउदै उपमहासचिव अस्लामीले भ्रष्टाचारीलाई देश द्रोही घोषणा गरी उसको सम्पत्ति राष्ट्रियकरण गर्ने संबैधानिक ब्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीले अगाडी सारेको जानकारी गराए ।
भ्रष्ट्राचार जस्तो जघण्य अपराधलाई कुनै एक आयोगको भरमा मात्रै छाड्न नहुने उनको तर्क थियो । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश समितिका उपाध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न शुभकामना आदान–प्रदान कायक्रममा आदीवासी जनजाती पत्रकार महासंघ ‐फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापा,क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य शिव डुम्रे लगायतले नेपालीहरुका मौलिक चाड पर्वहरुले सामाजीक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरेका थिए ।












