अध्यादेश फिर्ता लिएपछि कांग्रेसले विरोधका कार्यक्रम सार्वजनिक गरेन

प्रकाशित मिति:

काठमाडौं- मंगलबार जारी भएको अध्यादेश सरकारले फिर्ता लिने भएपछि कांग्रेसको पदाधिकारी बैठकले विरोधका कार्यक्रम घोषणा नगरी सकिएको छ। ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७’ जारी भएपछि प्रमुख प्रतिपक्ष दलले आकस्मिक रुपमा बुधबार पदाधिकारी बैठक बोलाएको थियो।

पदाधिकारी बैठकमा सरकारको कदमको विरोध गरी सडक र सदनमा थप शसक्त भूमिका देखाउने विषयमा छलफल भएको थियो। सरकारले अध्यादेश फिर्ता गर्ने प्रक्रिया सुरु गरेको खबर आएपछि सडक आन्दोलनका विरोध कार्यक्रम तय नगरी बैठक सकिएको छ।

‘संविधानका मूल आदर्श,शक्ति पृथकीकरणको सिद्धान्त, शत्ति, सन्तुलन र नियन्त्रण गर्ने कार्यविधिलाई जुन तरिकाले संशोधन गरियो।’ बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘सडकमा आउनुपर्ने परिस्थिति सरकारले बनाएको थियो।’ सडक र सदनमा लोकतन्त्रलाई बचाउन फेरि एकपटक कांग्रेस लड्नुपर्ने अवस्थाका सन्दर्भमा छलफल भएको उनले बताए। केसीले भने, ‘आज विरोधका कार्यक्रम घोषणा गर्नेवाला थियौं। फिर्ता लिएको भनिएपछि घोषणा गरेनौं।’ सभापति शेरबहादुर निवासमा भएको बैठकमा पूर्वपदाधिकारी पनि सहभागी भएका थिए।