प्रदेश प्रमुखले कार्यकर्ताभन्दा तल्लोस्तरको अभिव्यक्ति दिएको भन्दै विपक्षीदलको आक्रोश

प्रकाशित मिति:

पोखरा । नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभामुख र संसदीय कार्यसूचीमाथि गलत अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसले भत्र्सना गरेको छ । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले उनको अभिव्यक्ति कार्यकर्ता भन्दा तल्लो तहको भएको बताए ।

‘प्रदेश प्रमुख जस्तो पदमा आएको व्यक्तिले कार्यकर्ता भन्दा पनि तल्लो स्तरमा गएर बोल्नुभयो,’ उनले भने, ‘संविधानको धज्जी उडाएर क्षेत्राधिकार भन्दा बाहिर गएर जुन अभिव्यक्ति आएको छ । त्यसको घोर भत्र्सना गर्छु ।’ नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले पनि मर्यादामा बस्न चेतावनी दिए । ‘सबैले आ–आफ्नो मर्यादामा बस्न जान्नुपर्छ । सभामुख पद तपाईंले जस्तै गरि बक्सिसमा प्राप्त गरेको पद होइन,’ उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘आफ्नो पदको गरिमा कायम राख्नु होला । तपाईं सेरेमोनियल पदमा आसिन हुनुहुन्छ ।’

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश प्रमुखले अभिभावकको मर्यादा घटाएको तर्क गरे । ‘तपाईंलाई सम्पूर्ण प्रदेशबासीले आफ्नो अभिभावक मान्ने गर्छन्,’ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘कति हतार २४ घण्टापनि आफ्नो मर्यादामा बस्न नसक्नेलाई हामी कसरी अभिभावक मानौं ? प्रदेश प्रमुख पौडेलले बुधबार पदभार ग्रहण गर्दै सभामुख नेत्रनाथ अधिकारीमाथि गैर संवैधानिक आरोप लगाएकी थिइन् । उनले संसदमा छलफलकै क्रममा रहेको अविश्वास प्रश्ताव मरिसकेको बताएकी छन् ।

थप समाचार